लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमका केन्द्रीय अध्यक्ष, जिल्ला नेतृत्व, जिल्लास्थित अभिभावक परिवार, प्राविधिक टोली तथा निर्माण सेवामा संलग्न निर्माणकर्ताबीच भवन निर्माणको हालसम्मको प्रगति, भावी कार्ययोजना तथा आगामी निर्माण चरणबारे छलफल गरिएको हो।
छलफलका क्रममा निर्माण कार्यलाई निर्धारित योजनाअनुसार अघि बढाउँदै २०८३ साल मंसिरभित्र गृहप्रवेश तथा माघ महिनाभित्र भवनको समुद्घाटन गर्ने लक्ष्य राखिएको जानकारी दिइएको छ।
मानवसेवा आश्रमले सहयोगापेक्षी मानवहरूको संरक्षण, सम्मान र सेवाका लागि निर्माण भइरहेको यो भवनलाई भौतिक संरचनाभन्दा माथि उठेर मानवता, करुणा, सुरक्षा र आश्रयको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य लिएको जनाएको छ।
निर्माण कार्यमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था तथा शुभेच्छुकहरूले आर्थिक, भौतिक, श्रम तथा अन्य माध्यमबाट सहयोग गर्दै आएका छन्। आश्रमले भवन निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, अभिभावक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

निर्माण सम्पन्न भएपछि लमजुङमा सहयोगापेक्षी मानवहरूको संरक्षण र सेवाका लागि थप व्यवस्थित तथा सुरक्षित आश्रयस्थल उपलब्ध हुने अपेक्षा गरिएको छ। आश्रमले यो भवनलाई आगामी दिनमा धेरै सहयोगापेक्षी मानवका लागि आशा, आत्मीयता र नयाँ जीवनको सुरुवात गर्ने घर बनाउने लक्ष्य लिएको छ।
मानवताको सेवाका लागि निर्माण भइरहेको यस भवनलाई ‘मानवताको मन्दिर’का रूपमा विकास गर्न सबै पक्षको निरन्तर साथ र सहयोग आवश्यक रहेको आश्रमले जनाएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।