पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन्।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौतमले ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित आफ्नो प्यानल सार्वजनिक गरेकी हुन्। गौतम हाल पोखरा उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारीमा छिन्।

गौतम नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल रहेका छन्।
प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पदकी उम्मेदवार गौतमले संघको नेतृत्वका लागि आफूहरू स्पष्ट दृष्टिकोण, साझा उद्देश्य र बलियो टिमसहित निर्वाचनमा होमिएको बताइन्। व्यवसायीको हकहितलाई प्राथमिकतामा राख्दै संघलाई थप प्रभावकारी, सक्रिय र परिणाममुखी बनाउने आफ्नो प्रतिबद्धता रहेको उनले उल्लेख गरिन्।

गौतमले निजी क्षेत्रका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायीको आवाजलाई थप सशक्त बनाउने तथा पोखराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई मजबुत बनाउने विषयलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी छन्।
उनका अनुसार बदलिँदो आर्थिक तथा व्यावसायिक परिवेशअनुसार संघलाई थप गतिशील बनाउँदै व्यवसायीका समस्या समाधानमा प्रत्यक्ष रूपमा केन्द्रित हुने गरी नेतृत्व अघि बढाइनेछ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो तयारी तीव्र बनाएका छन्। गौतमको प्यानल घोषणासँगै आगामी नेतृत्वका लागि हुने चुनावी प्रतिस्पर्धा थप रोचक र तीव्र बन्ने देखिएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।