काठमाडौं, २०७८ असार १२ ।
नेपाल रेडियोलोजिकल सोसाइटी र सरकारी रेडियोग्राफर संघ, नेपालले संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेशागत माग सम्बोधन सम्बन्धी महत्वपूर्ण भेटवार्ता सम्पन्न गरेका छन्। सो अवसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव श्रीमान् सापकोटा लगायतका उच्च अधिकारीहरूसँग औपचारिक छलफल भएको हो।
रेडियोलोजी सेवाको सुदृढीकरण, पेशागत सुरक्षा, दरबन्दी व्यवस्थापन लगायतका विषयमा मन्त्रालयमा बारम्बार उठाइँदै आएको मागलाई सचिव देवकोटाले गम्भीरतापूर्वक लिनुका साथै ओएनएममार्फत मागको मूल्यांकन गरी अगाडि बढाउने स्पष्ट आश्वासन दिनुभएको छ।
संघसंस्थाहरूका अध्यक्षद्वय मुकेश झा (नेपाल रेडियोलोजिकल सोसाइटी) र कमलप्रसाद पँगेनी (सरकारी रेडियोग्राफर संघ, नेपाल) ले ऐतिहासिक महत्वको यो पहलले भविष्यमा रेडियोग्राफरहरूको हकहित सुनिश्चित गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँहरूले रेडियोग्राफरहरूको पेशागत पहिचान, अधिकार र प्रतिष्ठाका लागि ऐक्यबद्धताका साथ आन्दोलनको तयारी समेत भइरहेको जानकारी दिँदै आवश्यक परेमा थप दबाबमूलक कार्यक्रममार्फत माग पूरा गराउने चेतावनी दिनुभएको छ।
भेटवार्तामा हालसम्म भएका अन्य सामाजिक सञ्जाल तथा माध्यममा फैलिएका भ्रमपूर्ण सूचनाप्रति ध्यानाकर्षण गराउँदै संस्था र नेतृत्वप्रति वितृष्णा फैलाउने प्रयास नगर्न सबैलाई आग्रह गरिएको छ।
कार्यक्रममा मन्त्रालयका तर्फबाट सकारात्मक अभिव्यक्ति आएपछि संघसंस्थाहरूले उक्त संवादलाई ऐतिहासिक उपलब्धिको रूपमा लिँदै, आगामी दिनमा अझ प्रभावकारी रणनीतिमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।