२०८२ जेठ २१, बुधबार – व्यास, तनहुँ
व्यास नगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर निर्माणका लागि पूर्ण प्रतिबद्धता जनाउँदै एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र महाशाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य नगर क्षेत्रमा कोही नभएका, सहयोगापेक्षी, असाहाय र सडकआश्रित व्यक्तिहरूको व्यवस्थापन तथा पुनःस्थापनाको लागि दीर्घकालीन र प्रभावकारी योजना तय गर्नु रहेको थियो।
उक्त अन्तरक्रियामा सहभागी सबैजना मानवसेवा आश्रमसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै मानवीय सेवा कार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धतामा उभिए। यसै सन्दर्भमा मानवसेवा आश्रमले मिति २०८२/०२/२० मा पठाएको पत्र (च.न. ३५५) अनुसार सडकआश्रित मानव व्यवस्थापनको प्रस्तावमा सकारात्मक सहकार्यका लागि व्यास नगरपालिकाले औपचारिक प्रतिबद्धता जनाएको हो।
मानवसेवा आश्रमद्वारा सञ्चालनमा रहेको “मानवता प्रवर्द्धन महाअभियान”लाई नगरपालिकाले उच्च सम्मान गर्दै उक्त अभियानले देशभरि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनःस्थापनाको लागि पुर्याउँदै आएको योगदानको सराहना गरेको छ।
यसै क्रममा नेपाल सरकारद्वारा सम्वत् २०८२ सम्म नेपाललाई सडकमानवमुक्त राष्ट्र बनाउने घोषणा अनुसार व्यास नगरपालिकाले आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने ऐक्यबद्धता समेत जनाएको छ।
कार्यक्रमको समापनमा नगर प्रमुखले सहयोगापेक्षी, दिनदुखी र बेसहारा नागरिकहरूको सेवा कार्यमा संलग्न सबै संघ–संस्थाहरूप्रति आभार व्यक्त गर्दै नगरपालिकाको तर्फबाट यथासक्य सहयोग गर्ने आश्वासन दिनुभयो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।