२०७९ असार १७, शनिबार | बागलुङ
बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरू सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा-पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीय बासिन्दालाई अत्यधिक हैरानी हुने स्थिति सिर्जना हुँदै आएको थियो। 
उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन्।
मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको हो।
पोखरा पठाइएका मध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोरपाटन शाखामा आश्रय दिइएको छ। उद्धार कार्यपछि उनीहरू बसेका स्थानहरू पूर्ण रूपमा सरसफाइ गरिएको छ।
यसअघि पनि तीन दिनअघि एक जनालाई उद्धार गरी पोखरा पठाइएको थियो भने अहिले बाँकी सबैलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका प्रतिनिधिले जानकारी दिएका छन्।मानव सेवा आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूका घरपरिवार भए तापनि उनीहरू सबैजना परिवारसँग नबसी सडकमा जाँडरक्सी सेवन गर्दै माग्ने कार्यमा संलग्न थिए।
“हामीले उद्धार गरेका व्यक्तिहरूको घर त छ, तर परिवारमै सबैजना जाँडरक्सी सेवन गर्ने भएकाले सडकमा बस्न बाध्य भएका छन्। आश्रम भने वास्तविक सहयोगापेक्षी, जसको केही छैन, कोही छैन, शारीरिक वा मानसिक रूपमा कमजोर छन्, त्यस्ता व्यक्तिहरूका लागि हो,” मानव सेवा आश्रम पोखरा शाखाका प्रतिनिधिले भने।
मानव सेवा आश्रमले मानवता प्रवर्द्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ।
“सकारात्मक सोच र सहयोगी भावना भए परिवर्तन सम्भव छ। आउनुहोस्, सबै मिलेर मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाऔं,” आश्रमका संयोजकको आग्रह छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।