१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा
पोखरा ।
उमेर १४ वर्ष। जीवन के हो, भविष्य कस्तो हुन्छ र आफ्ना सपनाहरू के हुन् भन्ने बुझ्ने समय पनि भएको थिएन। घरकी जेठी छोरी भएकै कारण परिवार र समाजको दबाबमा विवाहको निर्णय स्वीकार्नुपर्यो। तर त्यो विवाहले जीवनमा खुसीभन्दा बढी पीडा, अपमान र संघर्ष लिएर आयो।
बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी शोभा गौतमको जीवन त्यसपछि सहज रहेन। वैवाहिक जीवनमा कुटपिट, हेला, तिरस्कार र अपमान उनको दैनिकी बन्न पुग्यो। आफूलाई असुरक्षित महसुस गर्ने अवस्था यतिसम्म बढ्यो कि पुरुष देख्दा समेत डर लाग्ने अवस्था आयो। पढाइ रोकियो, आत्मविश्वास कमजोर बन्यो र जीवनप्रतिको आशा पनि बिस्तारै हराउँदै गयो।
तर यही कठिन परिस्थितिबीच उनको जीवनमा छोराको जन्म भयो। छोराको भविष्यप्रतिको जिम्मेवारीले उनलाई फेरि संघर्ष गर्ने हिम्मत दियो।
छोराको पालनपोषण र भविष्यका लागि उनले पोखरा उद्योग वाणिज्य सङ्घ अगाडि सानो चिया पसल सञ्चालन गर...










