पोखरा, २०८३ असोज १६ गते । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा उद्यमशीलता विकास तथा रणनीतिक कार्ययोजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
पोखरा महानगरपालिका–१६ स्थित ढिकी डाँडा रिसोर्टमा असोज १५ र १६ गते आयोजित कार्यशालामा संघको आगामी दुई वर्षको रणनीतिक कार्ययोजना, संस्थागत सुदृढीकरण, उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यशालाले संघका आगामी दुई वर्षका प्राथमिकता, रणनीति र कार्यक्रमको खाका तयार गरेको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले उद्यमशीलता विकास, निजी क्षेत्रको प्रवर्द्धन र स्थानीय आर्थिक विकासका लागि उद्योग वाणिज्य संघ तथा स्थानीय तहबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमी–व्यवसायीका समस्या समाधानका लागि महानगरपालिका र निजी क्षेत्रबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी तथा महानगरपालिकाका अधिकृतद्वय छविलाल तिमिल्सिना र सुरज चिलवाललगायतको उपस्थिति रहेको थियो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले संघलाई समयानुकूल, प्रभावकारी तथा उद्यमी–व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउन स्पष्ट रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा लगानीको वातावरण निर्माणमा संघले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।
कार्यशालामा प्रशिक्षक उत्तमप्रसाद झाले रणनीतिक योजना निर्माण, संस्थागत विकास तथा कार्ययोजना तर्जुमाका विभिन्न पक्षमा सहजीकरण गर्नुभएको थियो। व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले उद्यमशीलता विकाससम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

दुईदिने कार्यशालाको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले पोखरा उद्योग वाणिज्य संघको ऐतिहासिक पृष्ठभूमि तथा निजी क्षेत्रको विकासमा संघले खेलेको भूमिकाबारे चर्चा गर्दै बदलिँदो आर्थिक तथा व्यावसायिक परिवेशअनुसार संघले निजी क्षेत्रका आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो।
उहाँले उद्यमी–व्यवसायीको हित संरक्षण तथा निजी क्षेत्रको विकासका लागि संघले आगामी दिनमा थप सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदिप प्रधानाङ्गले गर्नुभएको थियो।
कार्यशालाबाट संघका आगामी कार्यक्रम, संस्थागत सुदृढीकरण, उद्यमशीलता विकास, व्यवसाय प्रवर्द्धन, सदस्य सेवा विस्तार तथा निजी क्षेत्रका समसामयिक विषयलाई समेटेर आगामी दुई वर्षको रणनीतिक कार्ययोजना तर्जुमा गरिएको संघले जनाएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।