पोखरा, भदौ ५ । पोखराको लामाचौरमा यस वर्ष विशेष ढंगले तीज महोत्सव आयोजना हुने भएको छ । आगामी भदौ ८ गतेदेखि १० गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र पारिएको महोत्सव मूल समिति र विभिन्न २२ उपसमितिहरूले पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।
नेपाली नारीको महान् पर्व हरितालिका तीज को अवसरमा आयोजना हुने महोत्सवलाई सफल र भव्य बनाउन व्यापक तयारी भइरहेको अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभयो ।
विविध प्रतियोगिता र सांस्कृतिक प्रस्तुति
महोत्सवमा अन्तर समूह तीज गीत प्रतियोगिता, रारा लामाचौर कप खुल्ला पुरुष भलिबल, पोखरा एक्सपर्ट एजुकेशन अन्तर मावि छात्रा भलिबल, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, स्रष्टा सम्मान तथा छात्रवृत्ति प्रदान लगायतका कार्यक्रम हुनेछन् । साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ ।
यस वर्ष आर्थिक असहजता, टिम सहभागिता कमी र खेल संघ संस्थाको उपेक्षाका कारण विगत ११ वर्षदेखि निरन्तर हुँदै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने आयोजना नहुने भएको छ ।
पुरस्कार राशी आकर्षक
• पुरुष भलिबल : प्रथमलाई रु. ३ लाख १ सय ११, द्वितीयलाई रु. १ लाख ५० हजार १ सय ११, उत्कृष्ट खेलाडीलाई रु. १० हजार
• अन्तर मावि छात्रा भलिबल : प्रथमलाई रु. १ लाख १ सय ११, द्वितीयलाई रु. ५० हजार १ सय ११, उत्कृष्ट खेलाडीलाई रु. ५ हजार
• तीज गीत प्रतियोगिता : प्रथमलाई रु. ५० हजार १ सय ११, द्वितीयलाई रु. ३० हजार १ सय ११, तृतीयलाई रु. २० हजार १ सय ११ र सान्त्वना पुरस्कार रु. १० हजार १ सय ११
• लोक नृत्य प्रतियोगिता : प्रथमलाई रु. ४० हजार १ सय ११, द्वितीयलाई रु. २५ हजार १ सय ११, तृतीयलाई रु. १५ हजार १ सय ११, ३ वटा सान्त्वना पुरस्कार प्रत्येक रु. ५ हजार १ सय ११ र उत्कृष्ट भेषभूषालाई रु. ५ हजार १ सय ११
कलाकारहरूको आकर्षक प्रस्तुति
महोत्सवमा चर्चित लोकदोहोरी कलाकारहरु प्रकाश दुतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपाली लगायतले प्रस्तुति दिने छन् ।
५० स्टल, बालउद्यान र मनोरञ्जन कार्यक्रम
महोत्सवमा ५० औद्योगिक तथा व्यापारिक स्टल, बालउद्यान, दैनिक सांगीतिक कार्यक्रम, स्रष्टा सम्मान, छात्रवृत्ति वितरण तथा अन्य विविध मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् ।
उद्घाटन र समापन
महोत्सवको उद्घाटन भदौ ८ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् भने भदौ १० गते गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ ।
खर्च र सहयोग
करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोषमा थपिनेछ । यसैबीच लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रमले एम्बुलेन्स संचालन सहयोगार्थ १० हजार रुपैयाँ सहयोग गरेको छ ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।