पोखरा, असार १६ — पोखरा महानगरपालिका–४ स्थित कुमुदिनी होम्स विद्यालयमा आज कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावकहरूका लागि विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रमको प्रमुख आकर्षण अन्तर्राष्ट्रिय प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी रहे।
“विद्यार्थीहरू भविष्यका नेतृत्वकर्ता हुन्” भन्ने मूल सन्देशसहित अधिकारीले त्रिकोणीय सम्बन्ध — विद्यार्थी, अभिभावक र विद्यालय — नै सफलताको आधार भएको उल्लेख गरे।
उनले भने, “जीवनमा सफलता प्राप्त गर्न राम्रो कर्म र सही सोच अत्यावश्यक हुन्छ। आत्मशुद्धि र व्यवहार सुधारले सफलता स्वतः प्राप्त हुन्छ।”
कार्यक्रममा अधिकारीले अभिभावकहरूलाई सन्तानप्रतिको सहनशीलता र सकारात्मक शब्दको प्रयोगमा जोड दिए। “गल्ती हुने बित्तिकै नकरात्मक व्यवहार होइन, उत्प्रेरणा आवश्यक छ,” उनले भने।
कृत्रिम बौद्धिकता (AI) को युगमा पुगेको वर्तमान विद्यार्थीहरूलाई कम आँक्नु हुँदैन भन्ने अधिकारीको भनाइ थियो। उनले आमा–बाबा, शिक्षक र विद्यालयलाई नै भगवानको रूपमा सम्मान गर्न सिकाउनुपर्ने बताए।
विद्यालयको वातावरणको प्रशंसा गर्दै अधिकारीले भने, “यहाँको हरियाली, सांस्कृतिक झल्को, आधुनिक प्रयोगशाला, कलात्मक संग्रहालय र नवीन शैक्षिक दृष्टिकोण हेर्दा यस विद्यालयले उदाहरणीय कार्य गरिरहेको देखिन्छ।”
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ३५ वर्षदेखि विद्यालयको एउटै लक्ष्य — गुणस्तरमा कुनै सम्झौता नगर्ने रहेको स्पष्ट पारे। उनले SEE मा उच्च GPA ल्याउने विद्यार्थीदेखि लिएर विदेशमा स्कलरसिपमा अध्ययन गरिरहेकाहरू विद्यालयको सफलता भएको बताए।
पालिखेले विद्यार्थीतर्फ संकेत गर्दै भने, “हामी फेवातालबाट चम्चा होइन, गाग्री र घैंटो भरि पानी ल्याउने विद्यार्थी उत्पादन गर्न चाहन्छौं — जसको योगदान समाज र राष्ट्रलाई पुग्नेछ।”
कार्यक्रमको समापनमा रामजी अधिकारीले फिष्टेल नर्सिङ क्याम्पसका विद्यार्थीहरूसँग पनि छुट्टै प्रेरणामूलक भेटघाट गरेका थिए।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।