साउदीबाट फर्किएकी उषाको वेदना: श्रीमान र छिमेकिले यस्तो भन्ने गर्छन…



बिदेश त सपनामा पनि देख्न नपरोस’ परदेशको कुरा गर्नासाथ सुनसरीको एउटा पुरानो नगरपालिकामा बसोबास गर्ने उषा (नाम परिवर्तन)को अनुहारमा आक्रोशका धर्का देखिन्छन् । साउदी अरेबिया र कुवेतमा दुई वर्षसम्म घरेलु कामदारले भोग्न नपर्ने सबै खाले दुःख सहेर फर्किएकी उषालाई हिजोआज विदेश भन्ने शब्द पनि सुन्न मन लाग्दैन । विदेश गएर फर्किएकै कारण श्रीमान् र छिमेकीले गर्ने व्यवहारले परदेशमा भोगेका दुःख सधैँ बल्झाइरहन्छ । ऋणमा डुवेको घर उकास्न परदेशिएकी उषालाई आफ्नै जीवन डुबाएर फर्किएछु भनेर अहिले पछुतो लाग्छ ।

उषाको व्यथा, उनकै शब्दमा २०६५ सालको कुरा हो । घर धितो राखेर श्रीमानलाई काम गर्न मलेसिया पठाएँ । तर सात महिनापछि उहाँ रित्तो हात घर फर्किनुभयो । अब ऋण कसरी तिर्ने मलाई साह्रै अप्ठेरो परेको थियो । त्यसैबेला विदेश गएर फर्किएकी नन्दले विदेशमा काम र कमाइ राम्रो हुन्छ, ऋण पनि तिर्न सकिन्छ भनेर सुनाइन । मलाई जसरी पनि घर उकास्नु थियो । त्यसैले, अब आफै विदेश जाने निर्णय गरें । परिवारबाट कहिल्यै नटाढिएकी मलाई घर र केटाकेटी छाड्न निकै गाह्रो भैरहेको थियो ।


बिहानै उठें, लुगा पोको पारें । सुतिरहेकी छोरी उठेर चल्न थाली । मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ । ‘आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमा बसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई । छोरीका प्रश्नले मेरो मन झन भक्कानियो । बाहिर जाँदा लगाउने लुगा पोको पारेर म घरबाट निस्किएँ । छोरी म पनि सँगै जाने भन्दै रुन थाली । फरिया समातेर झुण्डिई । रुँदै हिँड्न पनि मिलेन । आँखा चिम्म गरेर आँसु दबाएँ । छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें ।

छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो । मन थाम्न मलाई त्यतिबेला निकै गाह्रो भयो । दलाल इटहरीमा पर्खिरहेका थिए । म जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाट पूर्व लाग्यौ । हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए । मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन । सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए । दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन । सिलिगुडीबाट हामीलाई दिल्ली लगियो । त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए । रात परेपछि लगे ।

उज्यालो नहुँदै विमान कुवेत पुग्यो । कुवेतको विमानस्थलमा देख्दै डर लाग्ने कालो, मोटो मान्छे लिन आएको थियो । उसले नेपाली नै भएको ठाउँमा पुर्‍यायो । त्यहाँ अझै धेरै नेपाली महिलाहरु थिए । मलाई देख्नासाथ सबैको मुखबाट एउटै आवाज निस्कियो, ‘यो नर्कमा किन आएको तिमी ?’ म त छक्क परें । सबैजनाको अनुहार मलिन थियो । म पनि आत्तिएँ । एउटै कोठामा धेरै जना । त्यो देखेपछि जिउभरिका रौं ठाडा भए । म थचक्क बसें । बेक्कार आएछु जस्तो लाग्यो ।

म चार दिन त्यो कोठामा बस्दा दिनहुँ नयाँ मान्छे आउने जाने क्रम चलिरहन्थ्यो । मलाई पनि चार दिनको दिन एउटा अरबीले लगे । घर लग्नुअघि नै बजार लगेर नयाँ लुगाफटा पनि किनि दिए । उसले किनि दिएका लुगा, उसको मलाई सबै नौलो लाग्यो । त्यहाँ त घर मात्र हैन, मानिस र तिनका व्यवहार पनि उस्तै अचम्म लाग्दा !

ओहो म त तिनीहरुलाई देखेर त्यसै आत्तिएँ । लगेको घरमा घरकै काम गर्नु पर्ने । जति काम गरे पनि गाली मात्र गरे जस्तो लाग्थ्यो । के भन्थे, भाषा बुझ्दिनथे । तर विदेशमा त भुईं पुछ्ने काम गर्न पनि गाह्रो हुने रैछ । झन् नुन मात्र हालेर हाम्रो गाउँघरको कुँडो जस्तो भात पकाउन त मलाई धेरै दिनसम्म पनि आएन । काम नजानेपछि मालिकले साह्रै गाली गरे । पिटे पनि । पछि भाषा बुझ्दा पो थाहा भयो, उनीहरुले ‘कुकुर्नी, खान नपाएर आएकी’ भनेर गाली गरेका रहेछन् । मैले कुवेतमा काम गर्न सकिन ।

त्यहाँका नेपाली दलाललाई काम गर्न सक्दिन भनें । कुवतेमा ६ महिना काम गरे । तर तलब पाइन । पछि उनीहरुले मलाई कुवेतकै साहुको आफन्तकोमा साउदी पठाए । साउदीको त झन के कुरा गर्नु ! छ्या ! त्यहाँका लोग्ने मान्छेले गर्ने व्यवहार सम्झँदा त मलाई विदेश त सपनामा पनि जान नपरोस् भन्ने लाग्छ । साहुका चार छोरा र तीन जना छोरी थिए । घरको काम म आफै सबै गर्थें । साहुनीले माया गर्थिन् । अनि विश्वास पनि । तर साहु र जेठो छोरोले त भनि नसक्नुका व्यवहार गरे ।

साहुनी घरमा नहुँदा ज्यान जोगाउनै मुस्किल पथ्र्यो । ‘नुर ताल’ अर्थात ‘नुर यता आउ’ भन्थें । नजिक नगइ सुख थिएन । साहुको छेउमा गएपछि शारीरिक सम्पर्क गर्न खोज्थे । बाउ मात्र हैन, छोरो पनि त्यस्तै व्यवहार गर्ने ! मोबाइलमा कस्ता कस्ता फोटो देखाउँथ्यो, अनि नजिक बोलाउने गथ्र्याे । मैले बेलुकी सबै साहुनीलाई सुनाउँथे । उसले बुढो र छोरालाई गाली गर्थी । साहुनी असल भएकै कारण मैले त्यो घरमा दुई वर्ष काम गरें । साहुनीले नजोगाएको भए त बाँचेर आउँथे जस्तो पनि लाग्दैन ।

घरका लोग्ने मान्छेले मात्र हैन, वरपरका लोग्ने मान्छेले पनि त्यस्तै व्यवहार गर्थे । शारीरिक सम्पर्क राखे लाखौं रकम दिन्छु भनेर लोभ देखाउँथे । मैले काम गर्ने घर नजिकै प्रहरी चौकी थियो । त्यहीँ काम गर्ने एकजना लोग्नेमान्छे पनि भात दिने बहाना बनाएर घरमा आउँथ्यो, अनि के के भन्थ्यो । दुव्र्यवहार गर्न खोज्थ्यो । तर साहुनी भने साथी जस्तै थिइन् । मलाई रमादानको बेलामा डेढ तोलाको सुनको सिक्री पनि किनि दिएकी थिइन् । तिनै साहुनीको विश्वास जितेर श्रीमान सिकिस्तै बिरामी छन् भन्ने बहाना बनाएर म नेपाल फर्किएँ

घर फर्कंदा परिवार विस्थापित भैसकेको थियो

तर त्यत्रो दु:ख गरेर २०६८ सालमा म फर्कंदा हाम्रो परिवार विस्थापित भैसकेको थियो । साहुले घर आफ्नो नाममा गरिसकेका थिए । श्रीमान् र छोरीहरु घर नजिकै दुई वटा कोठा भाडामा लिएर बसेका रहेछन् । आफ्नो घर हेरें । आँगनभरी दुबो उम्रिएको थियो । त्यो देखेपछि मन सम्हाल्न सकिन । तीन महिनाको तलव श्रीमानलाई ऋण तिर भनेर पठाएकी थिएँ ।

तर श्रीमानकाे रक्सी खाने बानी ! मैले पठाएको रकम रक्सी पिएर सकेछन् । त्यो थाहा पाएपछि मैले फेरि पैसा पठाइन् । आउँदा दुईलाख रुपैयाँ लिएर आएकी थिएँ, तर त्यतिले घर फिर्ता भएन । लोग्नेको रक्सी पिउने बानी सुध्रिएको थिएन । दुई छोरी ठूला भएका थिए । श्रीमानलाई बिदेशमा पठाउँदा बन्धक राखेको घर उकास्न आफु परदेश गएँ । त्यत्रो हण्डर खाएँ, तर न घर उकास्न सके, न त पति नै सुध्रिए । घर गुमाउनु पर्दा ज्यादै दुःख लाग्यो । कमाएर ल्याएको दुई लाख फेरि पनि श्रीमानलाई नै दिएँ । तीन वर्षे मुद्दतिमा राखिदिनु भनेकी थिएँ । तर त्यो रकम पनि अहिले त उनले रक्सीसँगै खाइसकेछन् ।

विदेशबाट फर्केपछि यतै केही गर्छु भनेर स्कुलमा क्यान्टिन खोलें । तर, क्याण्टीन साँझसम्म चलाएर कहिलेकाँही घर फर्किन अलि ढिलो हुन्थ्यो । त्यस्तो बेला आफ्नै लोग्नेले अनेकौं आरोप लगाउन थाले । त्यसपछि मैले क्याण्टीन चलाउन पनि छाडिदिएँ । त्यसपछि कोठा अघिल्तिर २५ हजार रुपैयाँमा पसल किनेर चिया नास्ता बेच्न सुरु गरें ।चिया नास्ताको पसल त चल्न थाल्यो, तर पसलमा मान्छेको आवत जावत बढेपछि बुढाले फेरि पनि बचन लाउन थाले । तथानाम गाली गरेर रातभर सुत्न दिएनन् ।

त्यसपछि त्यो काम पनि छाडेर हिजोआज किराना पसल खोलेकी छु । विदेश जानुभन्दा अघि हरेक दिन म तीन ठाउँमा वचत गर्थें । विदेश गएर आएकी भनेर गाउँलेले अनेक कुरा काट्छन् । सबैले गर्ने यस्तो व्यवहारले मलाई हिजोआज दिक्दार पारेको छ । विदेशमा काम गर्न जाँदा कमाई होला, घर उकासौला र समाजमा ईज्जत होला भन्ने लागेको थियो, तर बिदेशबाट फर्केपछि अहिले मसित घर छैन, कमाई र ईज्जत पनि छैन । अब हेरौं के हुन्छ । जस्तो परे पनि भोग्नै पर्ने रैछ ।